कला साहित्य उत्सव फागुन १८ देखि

बिर्तामोड । रिडर्स झापाले हरेक दुई वर्षमा आयोजना गर्दै आएको कला साहित्य उत्सवको चौथो शृङ्खला यही फागुन १८ गतेदेखि हुने भएको छ ।

मेचीनगरको काँकरभिट्टास्थित खानेपानी संस्थाको प्राङ्गणदेखि सभाहलसम्म सञ्चालन गरिने कला साहित्य उत्सव २०७५ मा १४ वटा विषयमा प्यानल डिस्कसन गरिनेछ ।

फागुन १८ गतेदेखि २० गतेसम्म सञ्चालन गरिने कार्यक्रमबारे जानकारी दिन आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक हरि तिम्सिनाले भने, यो वर्ष १४ वटा प्यानल डिस्कसनसहित कला प्रदर्शनी, प्रतक्ष्य चित्रकला, आर्ट क्वीज र फोटोप्रदर्शनी एवम् नाटक मञ्चन गरिनेछ ।’

करिब १२ लाख रुपैयाँको लागतमा सम्पन्न गरिने कला साहित्य महोत्सवका लागि सहयोगी मनहरुबाटै अर्थ संकलन गरिने बताइएको छ । आयोजक समितिका सचिव सौरभ मैनालीले थपे, ‘तेस्रो कला साहित्य उत्सवमा अर्थसंकलन कम भएकाले आयोजकहरुले नै लगानी गरेर वक्यौता मुक्त हुनुपरेको थियो, यो वर्ष चाहिँ अनुमानित रकम जुटाउने दौडाहामा लाग्दा सकारात्मक आश्वासन पाउँदैछौं ।’

आयोजक समितिका सदस्य दामोदर ढुंगेलका अनुसार कला साहित्य उत्सव केवल लेखक र साहित्यकारका लागि मात्र लक्षित नगरी विद्यार्थी एवम् सार्वजनिक चर्चाका विषयमा रुचि राख्ने सबैका लागि हो । उत्सवमा कला, साहित्य, संस्कृति, अर्थ–राजनीति, सञ्चार एवम् पर्यावरणजस्ता विषयमा विमर्श गरिनेछ ।

प्यानल डिस्कसनका लागि आ–आफ्नो क्षेत्रमा चर्चा कमाएका लेखक, साहित्यकार, पत्रकार, राजनीतिक व्यक्तित्व र कलाकार गरी तीन दर्जनभन्दा बढीले सहमति दिइसकेको आयोजक सागर शिवाकोटीको भनाई छ ।

Back to top button