प्रेसमाथि हमलाको संकेत !

प्रेसमाथि हमलाको संकेत !बिर्तामोड । सरकारले संविधानमा भएको पूर्ण प्रेस स्वतन्त्रता सम्बन्धी प्रावधानको खिल्ली उडाउँदै विभिन्न ऐनमा प्रेस स्वतन्त्रता विरोधी प्रावधान राखेको बताइएको छ ।

नेपाल प्रेस युनियन झापाको आयोजना तथा डेमोक्रेटिक लयर्स एसोसिएसन झापाको सहआयोजनामा शुक्रबार सम्पन्न विद्युतीय कारोबार ऐन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले यस्तो धारणा राखेका हुन् ।

लोकतान्त्रिक शासन ब्यवस्थामा स्वतः प्रेस स्वतन्त्रतालाई स्वीकार गर्नुको सट्टा विद्युतीय कारोबार ऐन, वैयक्तिक गोपनियता सम्बन्धी ऐन, फौजदारी तथा देवानी संहिता लगायतका ऐनमा प्रेस विरोधी प्रावधान राखिएको प्रति आपत्ति जनाइएको हो ।

नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले सरकारले प्रेसमाथि नियन्त्रण गर्ने प्रकृतिका कानून ल्याउन लागेको भन्दै यसले खोज पत्रकारितालाई चुनौती थपेको धारणा राखे ।

अर्का वक्ता प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य कृष्ण हुमागाईंले सरकार लोकतान्त्रिक विधि र प्रक्रिया बमोजिम बने पनि पत्रकारिता जगतलाई अनावश्यक कडाई गर्न खोजेको आरोप लगाए । प्रेस स्वतन्त्रताका लागि पत्रकारहरु जस्तोसुकै आन्दोलन गर्न तयार रहेको उनको भनाई छ ।

सरकारले मिडियासँग सम्बन्धित भएर ल्याएका कानूनहरुबारे जानकारी दिँदै नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाले सरकारले विद्युतीय कारोबार ऐनको धारा ४७ लाई जस्ताको तस्तै नेपाल मिडिया काउन्सिल विधेयकमा समेट्न खोजेको सुनाउँदै पत्रकारितालाई नियमन गर्ने नीति गलत भएको जिकिर गरे ।

बार एसोसिएसन झापाका पूर्व अध्यक्ष सुरज खत्रीले विद्युतीय कारोबार ऐनको पृष्ठभूमि र विकासक्रमबारे जानकारी दिँदै कानूनको सही प्रयोग भए डराउनु नपर्ने सुझाव दिए ।

ब्यक्तिगत गोपनियताका बारेमा जानकारी दिँदै डेमोक्रेटिक लयर्स एसोसिएसनका अध्यक्ष यज्ञलक्ष्मी चम्लागाईंले सार्वजनिक विषय बाहेक अनुमतिबिना ब्यक्तिगत गोपनियताका विषयहरु प्रकाशन/प्रशारण गर्न नपाइने ब्यवस्था ऐनमा रहेको बताइन् ।

Back to top button