संघीय गठबन्धनको पाँच दिने धर्ना सम्पन्न

काठमाडौं÷ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराकले पहिचान सहितको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल अन्तर्गत हालको सात प्रदेशलाई खारेज गरी १०+१ प्रान्त कायम गर्न सरकारसंग जोडदार माग गर्नुभएको छ ।
संघीय संसदमा जेष्ठ १२ गते देखि निरन्तर पाँच दिनसम्म धर्ना दिदैं आज समापन कार्यक्रममा बोल्दै लिङ्देनले सरकारले काठमाडौंको अस्तित्व नै नामेट हुनेगरी यहाँका आदिवासी नेवार समुदायमाथि सडक विस्तारको नाममा विस्तापित गर्ने, नेवार भाषा सम्पदामाथिको दमन र अतिक्रम बन्द गर्न, गोरु काटेको अभियोगमा तामाङ् समुदायमाथि झुठा मुद्दाहरु लगाउने, भ्रष्टचारी, हत्या हिंसा बलत्कारीलाई कडाभन्दा कडा कारवाही गर्न, माननीय रेशम चौधरीलाई तुरुन्तै रिहा गर्न र विभिन्न जातीय विभेदको अन्त्य गर्न सरकारसँग माग गर्दै लिङ्देनले देशभरी संघीय गठबन्धनको आन्दोलन गर्न तमतयार रहेको बताएका छन् । त्यसैगरी लिङ्देनले खस समुदायलाई आदिवासीमा सुचिकृत गरी खस र आर्य समानुपातिक कलस्टर अलग गर्न समेत माग गरेका छन् । त्यसैगरी गण्डक, कर्णाली र सुदुरपश्चिम खारेज गरी तमुवान मगरात थरुहट र खसान प्रदेश घोषणा गर्न माग गरेका छन् ।
कार्यक्रम नौं वटा पहिचानवादी संगठनहरुको संघीय गठबन्धनले आयोजना गरेको हो । अन्तिम दिनको धर्नामा नेपा राष्ट्रिय पार्टीका अध्यक्ष डा. विजय सैजु, खसान संघर्ष समितिका संयोजक प्रेम खाती, खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष आर के खम्बू, माननीय रेशम चौधरी वचाउन अभियानका लक्ष्मण थारु, संघीय लिम्बुवान मञ्च, नेपालका उपाध्यक्ष विशेन्द्र चेम्जोङ् लगायतले सम्बोधन गर्नुभएको थियो ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको मुख्य संयोजनमा भएको धर्ना कार्यक्रममा नेपा राष्ट्रिय पार्टी, नेवाः राजनैतिक अभियान, नेपाल सांस्कृतिक पुनजागरण अभियान, खसान संघर्ष समिति, आदिवासी जनजाति पार्टी, नेपाल सम्बद्ध तामाङसालिङ–नेवा संघर्ष समिति, नेपाल लोकतान्त्रिक पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, माननीय रेशम चौधरी रिहाई अभियान त्यसैगरी मञ्च अन्तर्गतका संघीय लिम्बुवान, खम्बुवान÷किरात, तामाङसालिङ, शेर्पा, नेवाः, मधेश, थरुहट, तमुवान, मगरात, खसान र दलित÷शिल्पी मञ्चको संयुक्त आयोजनामा गरिएको थियो । कार्यक्रममा राष्ट्रिय जनता पार्टी (राजपा), किरात याक्थुङ् चुम्लुङ् लगायतका राजनैतिक दल र संघसंस्थाहरुले ऐकबद्धता जनाएका थिए ।

Back to top button