विर्तामोड २७ भदौ । दोस्रो चरणको देशब्यापी हिपतम जागरण अभियान शुरु गरेको नेपाली कांग्रेसले शुक्रबार अन्तरक्रिया, युवाकेन्द्रित कार्यक्रम, अग्रज प्रजातान्त्रिक योद्धा तथा शहीद परिवारसँग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
जागरण अभियान अन्तर्गत शुक्रबार झापा क्षेत्र नं–१, २ र ४ मा अन्तरक्रिया, प्रजातान्त्रिक योद्धासँग भेटघाट तथा जनप्रतिनिधिसँग छलफल कार्यक्रम सम्पन्न भएका छन् ।
नेपाली कांग्रेस झापा क्षेत्र नं–१ ले मेचीनगरको वडा नं ४,६, ११ र १२ मा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । पूर्वघोषित कार्यक्रम अन्तर्गत अग्रज प्रजातान्त्रिक योद्धाका घरपरिवारमा पुगिसकेको झापा क्षेत्र नं १ को प्रदेश क्षेत्रस्तरीय कार्यक्रम अन्तर्गत विशेष सामाजिक संवाद र सामाजिक विकृति÷विसंगतिविरुद्ध जागरणका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका हुन् ।
मेचीनगर–१२ धाइजनमा नेपाली कांग्रेसको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा जागरण अभियानका केन्द्रीय प्रतिनिधि विन्दिया कार्की, ने.का. झापाका उपसभापति राम कट्टेल, प्रवक्ता लोकराज ढकाल, क्षेत्रीय सभापति मणि उप्रेती, प्रदेश ख सभापति सिता पोखरेल लगायतले जागरण अभियानको उद्देश्य र सहभागीका जिज्ञाशा समेटेर धारणा राख्नुभयो ।
ने.का. मेनपा–१२ का सभापति कालु मेचेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन टङ्क कार्कीले गर्नुभएको थियो ।
यसैबीच झापा क्षेत्र नं–१ प्रदेश क अन्तर्गत मेचीनगर–६, मेची बस ब्यवसायी संघको सभाहल र मेनपा–४ बाहुण्डाँगीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस मेनपा–६ का वडा सभापति धनप्रसाद केरुङ र मेनपा–४ का सभापति चन्द्र कोइरालाको सभापतित्वमा सम्पन्न बेग्लाबेग्लै कार्यक्रममा जागरण अभियानका केन्द्रीय प्रतिनिधि रमेश रायमाझी, ने.का. झापाका उपसभापति राम कट्टेल, मणि उप्रेती, गोपाल तामाङ, प्रदेश क क्षेत्रीय सभापति हर्क फियाक लगायतले बोल्नुभएको थियो ।
यसैगरी झापा क्षेत्र नं–२ ले प्रदेश र क र ख क्षेत्रमा रहेका प्रजातान्त्रिक योद्धा तथा शहीद परिवारसँग भेटघाट गरेको छ । दोस्रो जनआन्दोलनका शहीद राजन गिरी र जिउँदो शहीद घैलाडुब्बा निवासी सुरेश ढेना बास्केको घर–परिवारसँग भेटघाट गर्दै कार्यक्रमको प्रारम्भ गरेको कांग्रेस कार्यकर्ताको दुई बेग्लाबेग्लै टोलीले क्षेत्र नं–२ अन्तर्गत प्रदेश क र ख का प्रजातान्त्रिक योद्धासँग भेटघाट र भलाकुसारी गरेको हो ।
स्व. राजन गिरीको २०६२÷०६३ को जनआन्दोलनका क्रममा २०६३ साल बैशाख ६ गते झापाको चन्द्रगढीमा सुरक्षाकर्मीको गोली लागी निधन भएको थियो । सोही दिन झापा भद्रपुरका सुरज विश्वासको पनि निधन भएको थियो ।
यसैगरी २०१८ सालदेखि नै नेपाली कांग्रेसको मुक्तिसेनामा आबद्ध भएर प्रजातान्त्रिक आन्दोलनका क्रममा जेल, नेल, यातना भोगेका घैलाडुब्बाका सुरेश ढेना बास्केको घरमा पुगेर भलाकुसारी गरिएको प्रवक्ता लोकराज ढकालले जानकारी दिनुभयो ।
प्रदेश क मा प्रजातान्त्रिक योद्धाहरु डिल्ली सिटौला, उदयकान्त राजवंशी, विष्णु विमली, युवराज विमली, चैतन्य पाठक लगायतलाई भेटेर कांग्रेसले प्रजातान्त्रिक योद्धा र उनीहरुका परिवारको विचार सुनेको हो । अभियानका केन्द्रीय प्रतिनिधि बसन्त भट्टराइ, नेपाली कांग्रेस झापाका पूर्व सभापति सुधिरकुमार शिवाकोटी, पार्टी प्रवक्ता लोकराज ढकाल, उमा शिवाकोटी, प्रदेश क क्षेत्रीय सभापति धर्म लक्सम्बा, लीला कटुवाललगायतको टोली प्रजातान्त्रिक योद्धाका घर–घरमा पुगेको थियो ।
यसैगरी झापा क्षेत्र नं–२ को प्रदेश ख मा अभियानका केन्द्रीय प्रतिनिधि सुनिल शर्मा, नेपाली कांग्रेस झापाका सभापति उद्वव थापा, क्षेत्रीय सभापति खगेन्द्र मैनाली, प्रदेश ख क्षेत्रीय सभापति किरण श्रेष्ठ लगायतको टोलीले प्रजातान्त्रिक योद्धाहरु नेपाली कांग्रेस झापाका संस्थापक उपाध्यक्ष दलकृष्ण श्रेष्ठ, २०१५ सालका सांसद फत्तेवहादुर बुढाथोकी, बुटन चौधरी, धर्मप्रसाद ढकाल, गोपाल टुडु, पूर्णवहादुर ढकाल कुलबहादुर पुलामी, लालबहादुर मगर, याम आचार्य लगायतको घर–घरमा पुगेर भेटघाट सम्पन्न गरेको छ ।
यसैबीच नेपाली कांग्रेस झापा क्षेत्र नं–४ को प्रदेश क अन्तर्गत बैगुनधुरामा जनप्रतिनिधि, स्थानीय, प्रदेश र संघीय निर्वाचनका उम्मेद्वार तथा पार्टी कार्यकर्ताबीचको अन्तरसम्बन्धका बारे छलफल कार्यक्रम सम्पन्न भएको छ ।
जागरण अभियानका लागि केन्द्रीय प्रतिनिधि दिपेन्द्र सेन्दाङको प्रमुख आतिथ्यमा सम्पन्न छलफल कार्यक्रममा नेपाली कांग्रेस झापाका सचिव प्रेम सम्बाहाम्फे, महासमिति सदस्य भक्ति सिटौला, ४ नं क्षेत्रीय सभापति जयनारायण शाह, रोहित शाह लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा पार्टी र निर्वाचित जनप्रतिनिधिबीच समन्वय गरेर अघि बढ्ने विषयमा छलफल भएको क्षेत्रीय सभापति जयनारायण शाहले जानकारी दिनुभयो ।
कार्यक्रममा दुईतिहाइ बहुमतको कम्युनिष्ट सरकारले गरेको कर बृद्धि, महंगी, भ्रष्टाचार लगायतका विषयमा पनि छलफल भएको बताइएको छ ।
मोरङमा पनि प्रजातान्त्रिक योद्धासँग भेटघाट
यसैगरी जागरण अभियान अन्तर्गत शुक्रबार मोरङको क्षेत्र नं–३ को प्रदेश ख मा पनि प्रजातान्त्रिक योद्धाहरुसँग भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
अभियानका केन्द्रीय प्रतिनिधि खड्ग प्रसाईको नेतृत्वमा प्रदेश ख सांसद ललित श्रेष्ठ, प्रदेश सभापति गणेश खड्का, तरुण दलका अध्यक्ष छत्र सुब्बालगायतको टोलीले प्रजातान्त्रिक योद्धाहरुसँग भेटघाट र भलाकुसारी गरेको हो ।
उक्त टोलीले मणिकुमार गुरुङ, टङ्कप्रसाद सेढाई, तिलकबहादुर थापा, तेजप्रसाद ढकाल, बमबहादुर राई, गणेश चेम्जोङ लगायतको घरमै पुगेर भेटघाट गरेको केन्द्रीय प्रतिनिधि खड्ग प्रसाइले जानकारी दिनुभयो ।