सामुदायिक विद्यालयको २५ गते भित्र नतिजा, त्रैमासिक परिक्षाको आधारमा नतिजा सार्वजनिक गर्दै प्याब्सन

उत्तम खड्का

कमल । झापा कमल गाउँपालिका भित्रका विद्यालयहरुले आगामी बैशाख २५ गतेभित्र नतिजा प्रकाशन गर्ने भएका छन् । लामो समयसम्म नतिजा प्रकाशन नहुदा विद्यार्थीहरुमा मनोबैज्ञानिक असर पर्न सक्ने भएकाले लकडाउनकै समयमा प्रविधि प्रयोग गरि सबै विद्यालयको नतिजा प्रकाशन गर्ने निर्णय भएको हुदा बैशाख २५ भित्र सामुदायिक बिद्यालयले नतिजा प्रकाशनका लागी तयारी थालेका हुन् ।

सामुदायिक विद्यालयको सम्पूर्ण परिक्षा सकिएको र परिक्षा नसकिएका निजि विद्यालयलाई प्याब्सन तथा एनप्याब्सन संग सहकार्य गरि कक्षा ८ बाहेक चाडैं नतिजा प्रकाशन गर्ने गरि काम कारबाही बढाउन निर्देशन दिइएको कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सुर्य न्यौपानेले बताउनुभयो ।

कमल गाउँपालिकाका सबै सामुदायिक बिद्यालयको परिक्षा चैत ५ गते भित्र सकिएकाले नतिजा प्रकाशनमा कुनै समस्या नभएको तर केहि निजि विद्यालयले परिक्षा ढिलो चैत ३ गतेदेखि मात्रै संचालक गरेकाले परिक्षा नसकिएको हुँदा त्यस्ता विद्यालयको हकमा विद्यार्थीको आन्तरिक मुल्यांकन तथा त्रैमासिक परिक्षाहरुलाई आधार बनाएर नतिजा प्रकाशन गर्नेगरि तयारी थाल्न निर्देशन दिइएको उहाले बताउनुभयो ।

यसैबीच एन.प्याब्सनमा आबद्ध कमलका ५ वटा निजि विद्यालयले यसअघि नै नतिजा प्रकाशन गरिसकेको छ । परिक्षा समिति तथा प्र.अ. बैठकको निर्णय अनुसार फाल्गुन २८ देखी चैत ५ सम्म सबै परिक्षा सकेर केहिसमय अघि नतिजा प्रकाशन गरिएको कमल गाउँपालिका एन.प्याब्सनका अध्यक्ष तथा श्री इन्द्रलोहनी स्मृति विद्यालयका निर्देशक हजेन्द्र बस्नेतले जानकारी दिनुभयो । साथै प्याब्सनमा आबद्ध विद्यालयले भने आगामी बैशाख २८ गते नतिजा सार्वजनिक गर्ने निर्णय गरेको प्याब्सन कमल गाउँपालिकाका अध्यक्ष तथा श्री फोनिक्स इङलिस बोर्डिङ स्कुलका संस्थापक प्रधानाध्यापक बदी राइले जानकारी दिनुभयो ।

त्यस्तै सिकाइको पहिलो पाठशाला घर भएकाले विश्वब्यापी कोरोना संक्रमण फैलिएको यस अवस्थामा सबै बिद्यार्थीहरु घरमा भएकाले उनीहरूले घरबाट धेरै कुरा सिक्न सक्ने हुदा अभिभावकलाई आफ्नो नानीहरुहरुमा समय दिन कमल गाउँपालिका शिक्षा शाखाका प्रमुख न्यौपानेले आग्रह गर्नुभएको छ । यस समयमा आफ्नो नानीहरु संग घुलमिल भएर बच्चाहरुको मनोबैज्ञानिक रुपमा नजिक रहेर सामाजिक रीतिरिवाज, घरायसी तथा व्यावहारिक कुराहरुको बारेमा बच्चालाई क्रमिक रुपमा चेतना दिदैजाने हो भने प्रयाप्त समय रहेकाले अभिभावकहरुलाई यसतर्फ ध्यान पुर्याउन समेतको उहाले आग्रह गर्नुभएको छ ।

कमल गाउँपालिकामा २१ वटा सरकारी विद्यालय र ३० वटा निजि विद्यालय छन् ।

Back to top button