विजयकुमार अधिकारी
नेपाली आधुनिक गीत तथा चलचित्रका गीतहरूको रचना गर्ने पुरानो पुस्ताका वरिष्ठ गीतकार तथा कवि स्व. रत्न शमशेर थापाको हिजो मिति २०७७ साल जेठ १५ गते बिहीबारका दिन ८३ वर्षको उमेरमा काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा उपचारको क्रममा निधन हुँदा नेपाली गीत सङ्गीतको क्षेत्रमा अपूरणीय क्षति भएको छ । कालजयी सदावहार गीतहरूको रचना गरेर गीत सङ्गीतप्रेमी नेपालीहरू माझ आदर्श र सफल गीतकारको रूपमा प्रसिद्धि आर्जन गर्ने स्व. थापाको अवसानबाट यतिखेर नेपाली साङ्गीतिक आकाश शोकमग्न बनेको छ ।

ईस्वी सम्वत् १९३९ मा जन्मिनुभएका लोकप्रिय स्रष्टा स्व. रत्नशमशेर थापाले वि.सं. २०१८ सालमा आफ्नो रचनाको गीत स्व. नारायण गोपालको स्वरमा भारतको मुम्बईमा गएर पहिलो रेकर्डिङ गराउनुभएको थियो । त्यसपछि उहाँका सृजनाहरू नारायण गोपाल, प्रेमध्वज प्रधान, योगेश वैद्य, तारादेवी, अरुणा लामा आदि गायकरगायिकाहरूका कर्णप्रिय स्वर लहरीहरूमा गुन्जिँदै आए । उहाँका सृजनाहरू अत्यन्त गहन भावले भरिएका हुन्छन् । चिन्तनको गहिराइमा डुबेर साधनारत रहँदै शब्द र भावलाई कुँदी रसिला र ओजपूर्ण गीतहरू रचना गर्ने स्व. थापाका गीतहरू नेपाली समाजमा अमिट र अविस्मरणीय छाप छोड्दै आजसम्म पनि रेडियो र टिभीहरूमा गुन्जँदै आइरहेका छन् । उहाँका गीतहरू कुनै भावनात्मक, कुनै रोमान्टिक र कुनै देशभक्तिपूर्ण छन् । उहाँले केही चलचित्रका गीतहरू समेत लेख्नुभएको छ । ुघुम्तीमा नआऊ हैु, ुए कान्छा ठट्टैमाु, ुगोरेटो त्यो गाउँकोु, ुजाग लम्क लम्क हेु, ुविछोडको पीडा नसकी खप्नु, ुस्वर्गकी रानीु, ुरम्दैन यो दिलु आदि बोलका गीतहरू उहाँका असाध्यै लोकप्रिय सृजनाहरू हुन् ।
स्व। रत्न शमशेर थापाका ुरुझेका परेलाु गीत सङ्ग्रह र ुताराका काँचा रङु कविता सङ्ग्रह प्रकाशित छन् । उहाँ देवकोटा साहित्य पुरस्कार, युगकवि सिद्धिचरण काव्य पुरस्कार, छिन्नलता पुरस्कार, भीमनिधि राष्ट्रिय प्रतिभा पुरस्कार, मुक्ति पुरस्कार आदि महत्त्वपूर्ण पुरस्कारहरूबाट र रेडियो नेपालको सम्मानबाट समेत सम्मानित हुनुभएको थियो । नेपाली आधुनिक गीत सृजना तथा कविता रचनाको क्षेत्रमा स्व. थापाले पुर्याउनुभएको अमूल्य योगदानलाई नेपाली समाजले कहिल्यै पनि भुल्ने छैन । उहाँको भौतिक शरीरको अन्त्य भए पनि उहाँका सृजनाका सुन्दर गीत र कविताहरूसँगै उहाँ पनि हामी नेपालीहरूको मन र मस्तिष्कमा सधैँ अमर रहिरहनुहुने छ ।
रत्न शमशेर थापाप्रति हार्दिक श्रद्धाञ्जली !!!