सामुदायिक सहकारी अस्पताल बनाउने झापा जिल्ला सहकारी संघको प्रस्ताव

झापा । नयाँ र रचनात्मक अभियान चलाउन र नेतृत्व गर्न सक्षम बन्दै गएको झापामा जिल्ला सहकारी संघले पनि ‘हाम्रो सहकार्यमा सम्भव छ अभियान’ कार्यक्रम अगाडि सारेको छ । जस अन्तर्गत करिव १०० करोडको लागतमा सामुदायिक सहकारी अस्पताल निर्माणको अवधारणा आज आयोजित पत्रकार सम्मेलनमार्फत् प्रस्ताव गरिएको छ ।

झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कडेलको प्रमुख आतिथ्यमा जुम एप्समार्फत् पत्रकार सम्मेलन गरिएको हो । संघका वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले सहभागीहरुलाई शाब्दिक स्वागतसहित समुदाय, सहकारी, एनआरएन, विदेशमा रहेका झापालीहरुको संघ–संस्थाको सहकार्य र समन्वयमा नयाँ कार्यक्रम प्रस्ताव गरिएको जनाए ।

सम्भव छ अभियानबारे तयार गरिएको स्लाइड प्रस्तुत गर्दै अध्यक्ष ढकालले झापाका सम्पूर्ण सहकारी संघ–संस्था, कर्मचारी र नागरिकको समेत योगदानबाट जिल्ला सहकारी संघको नेतृत्वमा स्वास्थ्य तथा सामाजिक विकास कोष निर्माण गर्ने योजना रहेको सुनाए । सो कोषमा नेपाल सरकार, राष्ट्रिय सहकारी महासंघ, प्रदेश सहकारी संघ र स्थानीय सरकार लगायत सरोकारवाला निकायको समेत सहयोग र सद्भाव रहने संघको अपेक्षा छ ।

सो कोषबाट तत्कालका लागि कोभिड–१९ को जोखिम नियन्त्रणका लागि आवश्यक पर्ने सबै कार्यक्रम संचालन गर्ने संघको प्रस्ताव छ । यस्तै दीर्घकालमा जिल्ला संघको नेतृत्वमा एउटा सामुदायिक सहकारी अस्पताल निर्माण गर्ने लक्ष्य राखिएको अध्यक्ष ढकालले बताएका छन् ।

सकेसम्म न्यून शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले पिपिसिपी मोडलमा सामुदायिक सहकारी अस्पताल निर्माण गर्न सकिन्छ भन्ने आँटका साथ योजना अगाडि सारिएको अध्यक्ष ढकालले प्रष्ट्याएका छन् ।

This image has an empty alt attribute; its file name is jj.jpg

अध्यक्ष ढकालले एक अर्बको लगानी प्रस्ताव गरिएको योजनामा ५० करोड रुपैयाँ हाराहारी संकलन भएपछि काम प्रारम्भ गर्ने र चार वर्षभित्रमा अस्पताल सञ्चालनमा ल्याउन सकिने सुनाए । गएको वर्ष कोरोना महामारीको नियन्त्रण, रोकथाम एवम् राहतका लागि चार करोड सहयोग गर्ने झापाको सहकारी अभियानमा निर्दिष्ट योजना भए अर्थ संकलनमा अप्ठेरो नहुने अध्यक्ष ढकालले बताए ।

अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष कडेलले आजको मानिस आफ्नो स्वास्थ्य र जीवनरक्षाका लागि जस्तोसुकै योगदान गर्न अग्रसर रहेकाले जिल्ला संघले अस्पताल बनाउन अघि सारेको प्रस्तावको सराहना गरे । झापाको सहकारी अभियानमा ‘एकतावद्ध’ प्रयासबाट धेरै कामहरु भइसकेकाले ‘सम्भव छ अभियान’ पनि सफल हुने विश्वास गर्दै महासंघका अध्यक्ष कडेलले प्रस्तावित सामुदायिक अस्पतालको मोडालिटीबारे छिटो निर्णय गरेर अगाडि बढ्न सुझाव दिए ।

सो अवसरमा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले कानूनी संरचना कस्तो हुने, कुन निकायको स्वीकृतिमा अस्पताल सञ्चालन गर्न पाइने हो भनी जिज्ञासा राख्दै विशिष्टीकृत संघ बनाएर अघि बढेमा सहकारी संस्थाहरु लगानी गर्न अग्रसर हुने थिए कि भनी भनी सुझाव दिए ।

संघका सचिव भवानीप्रसाद दंगालले सहजीकरण गरेको भर्चुअल बैठकमा सहकारी अभियान र पत्रकारिता क्षेत्रका दर्जनौं सहभागीहरुले प्रतिक्रिया, सुझाव र जिज्ञासा राखेका थिए ।

Back to top button