कमल, कात्तिक २९÷ झापाको गौरादह नगरपालिका ५ का ४६ बर्षीय मबेसिर हुसेन मियाँको हत्याको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका ३१ बर्षीय महम्मद सद्दाम, सद्दामकी श्रीमती २८ बर्षीया सुमेरन खातुन, २६ बर्षीय महम्मद सुलेमान, सुलेमानकी श्रीमती २२ बर्षीया रुक्सार खातुन र ३८ बर्षीया कुर्समान खातुन रहेका ईलाका प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
गत कात्तिक ११ गते विहान हराएका मबेसिर हुसेन मियाँको खोजतलास गरी पाउँ भनी उनकी श्रीमती नुरजन खातुनले कार्तिक १४ गते इलाका प्रहरी कार्यालय दमकमा निवेदन दिनुभएको थियो ।

ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा कार्तिक २६ गते महमद सद्दामको घर कोठाको झ्यालको पल्ला तथा ग्रीलहरुमा रगत जस्तो रातो पदार्थको छिटाहरु देखेपछी हुसेनको हत्या गरेको हुन सक्ने आशंकामा सद्दामको घर खानतलासी गर्ने क्रममा सेफ्टी ट्यांङ्की भित्र दुर्गन्धित अवस्थामा हुसेन मृतको शव भेटीएको जिल्ला प्रहरी कार्यलय झापाका प्रमुख सानुराम भट्टराईले जानकारी दिनुभयो ।
घटनास्थलबाट घटनामा प्रयोग भएका घरेलु धारिलो हतियार दाउ, छुरी र घन (मार्तोल) लगायत प्रमाण योग्य चिजबस्तुहरु बरामद गरीएको छ । हत्याको आरोपमा पक्राउ परेका पाँचै जनालाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको प्रमुख भट्टराईले जानकारी दिनुभयो ।