किसान कृषि सहकारी संस्थाको चौथो बार्षिक साधारणसभा सम्पन्न

गोविन्द ल्वागुन

मंसिर २६ झापाको शिबसताक्षी–११ झिलझिलेमा रहेको किसान कृषि सहकारी संस्थाले आज चौथो बार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाको अवसर पारेर संस्थाका उत्कृष्ट कारोबार गर्नेहरुसहित कार्यालयमा कार्यरत एक जना कर्मचारीलाई नगद रुपैया र सम्मानपत्रले पुरस्कृत गरिएको छ ।

झिलझिलेस्थित किराँत भवनमा आज (शनिबार) सम्पन्न बार्षिक साधारणसभामा उत्कृष्ट बचतर्कातर्फ शिबसताक्षी–११ का खेम मगर र शिबसताक्षी–८ का यशोदा लम्जेल पुरुस्कृत भएका छन् । त्यस्तैं, असल ऋणी अन्तर्गत शिबसताक्षी–११ का गंगाराम कडरिया र शिबसताक्षी–८ का तिर्थ राई पुरस्कृत भएका छन् ।

संस्थाद्वारा सञ्चालित बालबालिका खुत्रुक्के बचत अन्तगर्त शिबसताक्षी–८ का आसन कोयु राई, शिबसताक्षी–८ का सेबिक राई, शिबसताक्षी–८ का मेरी मगर र शिबसताक्षी–८ का मिम्जिमा जवेगुलाई पुरस्कृत गरिएको छ ।

त्यस्तैं, संस्थाले कार्यालयमा कार्यरत कर्मचारीहरुबीच आ–आफ्नो कार्यक्षेत्रमा लगनशिल भएर काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने कार्यक्रम बनाएको छ । त्यसै अनुसार यसवर्ष कार्यालयमा कार्यरत लेखापाल अम्बिका राईलाई नगद ७ हजारको चेकसहित सम्मानपत्रले पुरस्कृत गरिएको छ । शिबसताक्षी–११ की लेखापाल राईले कार्यक्षेत्रमा देखाएको महत्वपूर्ण योगदानको कदर गर्दै पुरस्कृत गरिएको हो ।

संस्थाका अध्यक्ष सनमकुमार इजमको अध्यक्षता र जिल्ला सहकारी संघ झापाको लेखा समितिका संयोजक चुडामणी ओझाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख अतिथि ओझाले सञ्चालक समितिले संस्थाप्रति उत्तरदायित्व बहन गर्न सुझाव दिए । वहाँले आफ्नो संस्थाप्रति आफै जिम्मेवार हुनुपर्ने र नियमित बचत र मासिक बचतका कार्यमा पनि नियमित भएर सहभागिता हुनुपर्नेमा जोड दिए । शेयर सदस्यहरुलाई बचत किन गर्ने र बचतको बानी कसरी विकास गर्ने लगायतका बारेमा प्रमुख अतिथि ओझाले कार्यक्रममा सहभागि संस्थाका शेयर सदस्यहरुलाई जानकारी गराएका थिए ।

संस्थाका उपाध्यक्ष युवा व्यवसायी हरिसंकर सिलवालको स्वागत मन्तव्य रहेको कार्यक्रममा धरमपुरस्थित हाम्रो हात्तेमालो कृषि सहकारी संस्थाका अध्यक्ष एबम् कृषि प्राविधिक ताराप्रसाद गौतम, शिबसताक्षी–८ का वडाअध्यक्ष केहरसिंह बस्नेत, सतासीधाम बहुदेश्यीय सहकारी संस्था झिलझिलेका अध्यक्ष गोपाल श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा छिमेकी बचत तथा ऋण सहकारी संस्थाका सहायक प्रवन्धक नेत्रप्रसाद कोइराला, चौतारी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक बिकेक राई, किसान कृषि सहकारी संस्थाका सल्लाहकार संयोजक शिबकुमार लावाती (योगेन), ऋण समितिका संयोजक रमेश लावोती, पत्रकार गोविन ल्वागुन, सेलिङ केसी, छविलाल डवाडी, संस्थाका सचिव मोहन बाहिङ राई, व्यवस्थापक चन्द्रिका तामाङ मेन्याङ्बो लगायको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा संस्थाले आर्थिक बर्ष २०७७।०७८ मा गरेका विभिन्न कार्यहरुसहितका आगामी आर्थिक बर्ष २०७८।०७९ का निती तथा योजनाहरु र कार्यक्रमलाई समावेश गरिएको प्रतिवेदन प्रस्तुत गरिएको थियो । संस्थाका अध्यक्ष इमजद्वारा प्रस्तुत प्रतिवेदनमा कृषिसँग सम्बन्धीत कृषकहरुलाई राहत र लाभदायक हुने कार्यक्रमहरु प्रतिवेदनमा पेश गरिएको थियो ।

प्रतिवेदनमा वीउ बिजन, रसायनिक मलखाद र त्यसको बिक्री लगायतका बारेमा समेत प्रतिवेदनमा समावेश गरिएको छ । त्यस्तैं, बाली तथा पशुपंक्षी बिमा, तालिम तथा गोष्ठी, अध्ययन तथा अवोलकन सम्बन्धीका नीतिगत योजना र कार्यक्रमहरु राखिएको छ ।

सो प्रतिवेदनमा बित्तिय कारोबारका कार्यक्रमहरुलाई समेत आगामी आर्थिक बर्ष २०७८।०७९ मा विभिन्न कार्यक्रमहरुलाई समावेश गरिएको छ ।

आर्थिक बर्ष २०७७।०७८ मा संस्थाका महिला शेयर सदस्यहरुलाई सुत्केरी पोषण कार्यक्रममा सहभागिता भएको पनि प्रतिवेदनमा सार्वजनिक गरेको छ । जस अन्तर्गत शिबसताक्षी–८ की भद्रीमाया सेनिहाङ, शिसताक्षी–११ की बुद्धमाया आङदम्बे, शिबसताक्षी–११ की अञ्जु राई र शिबसताक्षी–११ की शेभाकुमारी बस्नेत छन् । उनीहरुलाई संस्थाको तर्फबाट जनही रु १ हजार ५०० रुपैया वितरण गरिएको छ ।

त्यस्तैं, बाल बचत अन्तर्गत बाल बचतकर्ताको जन्मदिनमा संस्थाले २७ जनाको बर्थडे केक उपहार स्वरुप प्रदान गरिएको छ । संस्थामा आवद्ध शेयर सदस्यहरुको परिवारमा सदस्यको स्वर्गारोहण भएको अवस्थामा संस्थाले श्रद्धाञ्जलीपत्रसहित रु ५ हजार उपलब्ध गराउदै आएको छ । सो मध्ये यसवर्ष ७ जनाको श्रद्धाञ्जली पत्र र नगद ५ हजार उपलब्ध गराइएको प्रतिवेदनमा सार्वजनिक गरिएको छ ।

Back to top button